एफवान सफ्टको अनलाइन पेमेन्ट गेटवे सेवा
काठमाडौं/ सात वर्षअघि इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङलगायत सेवा सुरु गरेको एफ वान सफ्ट इन्टरनेसनलले अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ । कम्पनीले अनलाइनमार्फत रकम आदानप्रदान, बिल भुक्तानीलगायत सुविधा उपभोग गर्न सकिने गेटवे सुरु गरेको हो ।
सूचना प्रविधिजन्य सेवा विस्तार गर्ने क्रममा इसेवा डटकम डट एनपीमार्फत अनलाइन पेमेन्ट गेटवे सुरु गरिएको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत विश्वास ढकालले बताए ।
कम्पनीले सुरु गरेको अनलाइन पेमेन्ट गेटवेमार्फत ग्राहकले घरैमा बसीबसी बैंक व्यालेन्स आदान-प्रदान गर्ने, नेपाल टेलिकम, विद्युत् प्राधिकरणको बिल भुक्तानी गर्ने, स्कुल कलेजको शुल्क बुझाउने, पत्रपत्रिकाको ग्राहक बन्नेलगायत सेवा प्राप्त गर्न सक्ने उनले जानकारी दिए । इसेवाले युटिलिटी बिल, इटिकेट खरिद, पि्रपेड मोबाइल रिचार्ज कार्ड खरिद, इन्टरनेट बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानीलगायत सेवा प्रदान गर्ने ढकालले बताए ।
ग्राहकले इसेवामा दर्ता भएर सेवा उपभोग गर्न सक्नेछन् । यसका लागि ग्राहकले ई-सेवा डट कम डट एनपीमा गई आफ्नो इमेल दर्ता गराउनुपर्नेछ । इमेलमार्फत दर्ता आवेदन दिएका ग्राहकलाई इसेवाले इमेलमा लिंक पठाइदिने र निःशुल्क लिंकबाट दर्ता हुन सकिने व्यवस्था छ । दर्ता भएका ग्राहकले आफ्नो एकाउन्ट पि्रफन्ड गर्न इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट एवं रिचार्ज कार्डमार्फत सक्नेछन् । ई-सेवा काउन्टरमा गएर बचत गरी वा ई-सेवाले बिक्री गर्ने रिचार्ज कार्ड किनेर आफ्नो एकाउन्टमा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । हाललाई सेटलमेन्ट बैंकको रुपमा ई-सेवाले लक्ष्मी बैंकलाई लिएकाले लक्ष्मी बैंकका ग्राहकले पनि सबै ई-सेवा प्राप्त गर्न सक्ने ढकालले बताए । ई-सेवाले अन्य बैंकलाई पनि सेटलमेन्ट बैंक बनाउँदै जाने ढकालले जानकारी दिए । ई-सेवा वेटा अवस्थामा हँुदा नै ग्राहकले ५५ लाख बराबरको ६० हजारभन्दा बढी कारोबार गरेकाले सेवाप्रति आकर्षण धेरै रहेको दाबी उनको छ । ३० दिन अघिदेखि वेटा स्थितिमा सुरु गरिएको ई-सेवामा १ हजार २ सयले दर्ता गरिसकेको उनले जानकारी दिए ।
अनलाइन पेमेन्ट गेटवे प्रयोग मोबाइलमार्फत गर्न मिल्ने गरी विकास गरिसकिएकाले चाँडै यो सेवा पनि ग्राहकले पाउने कम्पनीका महाप्रबन्धक अस्कर अलिले बताए । ई-सेवाले नांगो बेकरी र केएफसी पिज्जाहटको सेवा सुरुमा ग्राहकलाई उपलब्ध गराउनेछ ।
ई-सेवा एकाउन्टमा एकपटकमा एक लाखभन्दा बढी व्यालेन्स नरहने र एकपटकमा २० हजारभन्दा बढी रकम आदानप्रदान नहुने भएकाले सुरक्षित रहेको उनले बताए । चाँडै नेपालसँग पनि सहकार्य गरी अघि बढ्न लागिएकाले अन्तर्राष्ट्रिय रुपमै सेवा विस्तार हुने जनाइएको छ ।
ई-सेवा सेटलमेेन्ट बैंकका रुपमा रहेको लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशीले ई-सेवाको एकाउन्टमा हुने व्यालेन्स सुरक्षित रहेको बताए । उनले ई-सेवाको एकाउन्टमा हुने व्यालेन्स पनि लक्ष्मी बैंककै एकाउन्टमा रहने भएकाले सुरक्षित रहेको दाबी गरे । एफवान सफ्टका अध्यक्ष पवन तुलाधरले समयको मागअनुसार सेवा सुरु गरिएको जानकारी दिदै धेरैभन्दा धेरै ग्राहलाई सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए ।


Comments
Leave a comment Trackback