arrow

टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
TikTok-logo-720.jpg
तस्बिर – फाइल ।

वासिङ्टन । टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ ।

भिडियो साझा गर्न मिल्ने र १७ करोड अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको चिनियाँ एप टिकटकका लागि यो कानूनले  ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन् । 

टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामु चिन्ता पैदा गरेको छ ।

टिकटकका विषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको छ । सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन् । 

रिपब्लिकन र डेमोक्र्याट दुवैले चुनावी वर्षमा टिकटकका भावुक युवा प्रयोगकर्ताहरूको क्रोधको जोखिम उठाएपछि एप प्रयोगको विपक्षमा आएको चेतावनीले धेरैलाई आश्चर्यचकित पारेको छ । अमेरिकी निर्वाचनमा युवाहरूको भावना र भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । 

अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले मतदानपछि भने, “आजको मतदानमा संसद्भित्रका दलहरूबीचको एकताले चीनले अमेरिकीमाथि जासुसी गर्ने र छलछाम गर्ने प्रयासको विरोध गरेको देखाउँछ र हाम्रा शत्रुहरूलाई रोक्ने हाम्रो सङ्कल्पलाई सङ्केत गर्दछ ।”

उनले भने, “म सिनेटलाई पनि यो विधेयक पारित गर्न र राष्ट्रपतिलाई पठाउन आग्रह गर्दछु ताकि उहाँले यसलाई कानूनको रूपमा मान्यता दिन हस्ताक्षर गर्न सक्नुहुनेछ ।”

यो विधेयकको विषय सिनेटबाट अनुमोदन हुन अझै बाँकी छ  । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयक संसद्बाट पारित भएर आए त्यसमा हस्ताक्षर गर्ने बताउनुभएको ह्वाइट हाउसले जनाएको छ ।

“यो प्रक्रिया गोप्य थियो र विधेयकलाई एउटा कारणले जाम गरिएको थियोः यो प्रतिबन्ध हो,” टिकटकका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन् । 

“हामी आशावादी छौँ  सिनेटले तथ्यहरू विचार गर्नेछ, उनीहरूका घटकहरूलाई सुन्नेछ र ७० लाख साना व्यवसाय र हाम्रो सेवा प्रयोग गर्ने १७ करोड अमेरिकीसँगको प्रभाव र अर्थव्यवस्थामा पर्ने असर महसुस गर्नेछ ।

मतदानपछि टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्यूले संयुक्त राज्य अमेरिकामा एपका प्रयोगकर्ताहरूलाई आफ्ना सिनेटरहरूसहित आफ्ना कथाहरू बोल्न र साझा गर्न आग्रह गरेका थिए । 

सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक भिडियोमा उनले भने, “हामी यो अद्भुत प्लेटफर्मको सुरक्षाका लागि हाम्रो कानूनी अधिकारको प्रयोगसहित सबै कार्य जारी राख्नेछौँ । हामीलाई विश्वास छ हामी (टिकटक र यसका प्रयोगकर्ता) मिलेर यस अवरोधको अवस्थालाई पार गर्न सक्छौँ । आफ्नो संवैधानिक अधिकारको रक्षा गर्नुहोस् । तपाईहरु आफ्ना आवाजहरूलाई अमेरिकी जनता र विश्वसामु सुनाउन कानुनी सङ्घर्ष जारी राख्नुहोस् ।” 

सिनेटमा विधेयकलाई पारित गर्न सिनेट नेता चक शुमरको समर्थन आवश्यक रहेको छ । उनले विधेयक सदनबाट पारित भएपछि मात्र सिनेटले कानूनको ‘समीक्षा गर्ने बताएका छन् ।

टिकटकको मूल कम्पनी बाइटडान्सले १८० दिनभित्र एप बिक्री गर्न वा अमेरिकामा एप्पल र गुगल एप स्टोरबाट प्रतिबन्धित बन्नुपर्नेछ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ