arrow

दातृ निकायसँग अर्थमन्त्रीको साइडलाइन वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
investment-summit-2024kk.jpg

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दातृ निकायसँग साइडलाइन वार्ता गरेका छन् । तेस्रो लगानी सम्मेलन अन्तगर्गत समानान्तर सत्रहरु चलिरहेका बेला उनले विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँग वार्ता गरेका हुन् ।  

उक्त वार्तामा लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भन्दै विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरु उत्साहित भएको बताए । यो सहभागिताले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको उनको भनाइ छ । 

सम्मेलनको उदघाटन सत्रमा सरकार मात्र नभएर प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिंगो देश एकढिक्का रहेको सन्देश विश्वभर प्रवाह भएको बताए। 

लगानी सम्मेलनको शोकेशमा राखिएका आयोजनाहरुमा विकास साझेदारहरुको आकर्षण देखिएको समेत उनको भनाइ छ । पुनले विगतदेखि गरिँदै आएको प्रतिबद्धता अनुसार लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत ९ वटा कानूनमा गरिएको संशोधन गरेको र नेपालको क्रेडिट रेटिङ प्रक्रिया अघि बढेको जानकारी उनले गराए । 

आगामी दिनमा थप नीतिगत र कानूनी सुधार तथा प्रक्रियागत सरलीकरणमार्फत व्यवसायिक वातावरण सुधारको काम गर्दै जाने उनको प्रतिबद्धता थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिमा जोड दिएको भन्दै उनले आगामी बजेटले ती विषयलाई प्रमुखताका साथ सम्बोधन गर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ