arrow

सहकारीले तानेको लहरो

आफैँ सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रविले दिए सांसद गीतालाई पक्रन निर्देशन

अदालतबाट पक्राउ अनुमति पाइसक्दासमेत कार्यान्वयन गर्नुको सट्टा प्रहरी अलमलमा, नजिर रवि लामिछानेलाई पनि लागू हुने, रवि सार्वजनिक खपतमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
gita-basnet-rpp-sahakari.jpg

काठमाडौँ । सहकारी ठगीमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी एक सांसद मुछिएपछि गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले उनलाई पक्राउ गरेर तुरुन्तै कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् । 

राप्रपा सांसद गीता बस्नेतमाथि नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

सांसद गीता बस्नेतविरुद्ध जाहेरी परेपछि गृहमन्त्रीले निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईलाई फोन गरेर उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका हुन् । 

राप्रपा सांसद गीता बस्नेतलाई बैशाख १४ गते पक्राउ गर्न प्रहरीलाई अनुमति प्राप्त भएको थियो । उनलाई पक्राउ गराउन गृहमन्त्री लामिछाने आफैँ लागिपरेका छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ गराएर सहानभूति बटुल्ने प्रयास गरे पनि आफूविरुद्ध परेको उजुरीबारे भने गृहमन्त्री मौन रहेका छन् । 

यता गीतालाई पनि अनुसन्धानको दायरामा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी भए पनि अदालतबाट पक्राउ अनुमति पाइसक्दासमेत कार्यान्वयन गर्नुको सट्टा प्रहरी भने प्रदेश र प्रधान कार्यालयमा पत्राचार गर्दै अलमल गरिरहेको छ । 

यो नजिर गृहमन्त्री रवि लामिछानेलाई पनि लागू हुने भन्दै प्रहरी अलमलमा परेको हो । यद्यपि सार्वजनिक खपतका लागि भए पनि रविले प्रहरीलाई भने बस्नेतलाई पक्रन निर्देशन दिएका हुन् ।

उनले सहकारीको रकम अपचलन गरी मिडिया हाउस सञ्चालन गरेको विषयमा भने थाहा नभएको भन्दै जोगिने कोसिस गरिरहेका छन् । 

प्रहरीका अनुसार सांसद बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरेकोमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरीले जनाएको छ । 

सांसद सहितको समूहले २० करोड माथि हिनामिना गरेको देखिएको स्रोतको दाबी छ । सो रकम गैरकानुनी रुपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ । 

सांसद बस्नेत अहिले फरार रहेको प्रहरीको जनाएको छ । बस्नेत समानुपातिकबाट राप्रपाको सांसद बनेकी हुन् । 

बस्नेतले चितवनको सनराइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोेक्ता सहकारीबाट एक करोड भन्दा बढी उनका ज्वाइँ नगेन्द्रबहादुर रिमाल र उनीहरुका साथी मार्फत रकम निकासी गरेको खुलेको छ ।  

नवलपुरबाट भने १ करोड हिनामिना गरेको आरोप रहेको छ । बस्नेतले विभिन्न आफन्त र साथीहरुमार्फत सहकारीमा रहेको रकम निकालेर आफैँ संलग्न रहेको बर्दियाको कृष्णसार रिसोर्ट प्रालिमा लगानी गरेको छानबिन प्रतिवेदनमार्फत अभियोग लगाइएको स्रोतले जनाएको छ । 

राप्रपाले बर्दियाकी गीता बस्नेतलाई २०७९ सालको प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको हो । 

बस्नेतलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्दियाको गुलरिया नगरपालिकाको नगरप्रमुखमा मनोनितसमेत गरेका थिए । उनी लामो समयदेखि राप्रपामा सक्रिय महिला नेतृ हुन् । 

उनी २०७४ को निर्वाचनमा गुलरिया वडा नम्बर ७ बाट वडाध्यक्षमा निर्वाचितसमेत भैसकेकी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ