arrow

विश्वकपका कप्तान र उपकप्तान भएको टिम आईपीएलको प्लेअफ होडबाट बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
ipl-2024-hardik-loss.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा भारतका तर्फबाट विश्वकपमा ठाउँ बनाएका चार खेलाडी रहेको टिम मुम्बई इन्डियन्स प्लेअफ छनोटको सम्भावनाबाट बाहिरिएको छ । 

१० टोलीबीच प्रतिस्पर्धा भइरहेकामा चार टोली उपाधिका लागि प्लेअफ चरणमा पुग्नेमा मुम्बई पुछारबाट दोस्रो स्थानमा रहेर प्लेअफ होडबाट बाहिरिएको हो । 

मुम्बईबाट भारतीय टिमका टी–२० विश्वकपका कप्तान रोहित शर्मा, उपकप्तान हार्दिक पाण्डेया, सूर्यकुमार यादव र जसप्रित बुमराह रहेका छन् । तर त्यही टिम भने आईपीएलमै कमजोर सावित भएको छ । 

पाँच पटकको च्याम्पियन मुम्बईलाई गएरातिको खेलमा लखनउ सुपर जाइन्टसले ४ विकेटले हरायो । पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा १४४ रन बनायो । नेहाल वाधेराले ४६ तथा टिम डाभिडले ३५ रन बनाए । 

रोहित ४, हार्दिक शून्य तथा सूर्यकुमार १० रन बनाएर आउट भए । जवाफमा लखनउले ४ बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा जित हासिल गर्यो । 

मार्कस स्टोइनिसले ६२ रन बनाए । हार्दिकले २ विकेट लिए । तर नियमित बलर एवं विश्वकपमा छानिएका जसप्रित बुमराहले भने विकेट लिएनन् । 
अहिलेसम्म राजस्थान रोयल्स १६ अंकसहित छनोटको सबैभन्दा नजिक रहेको छ भने मुम्बई र रोयल च्यालेन्जर्स बैंगलुरू समान ६ अंकसहित बाहिरिएका छन् । 

पञ्जाब किंग्स एक खेल हार्नासाथ बाहिरिनेछ । उसको ९ खेलमा ६ अंक छ । 

त्यसबाहेक १२ अंकमा रहेका कोलकाता नाइट राइडर्स र लखनउ प्लेअफका लागि दोस्रो र तेस्रो स्थानमा रहेर मजबुद भएका छन् । 

चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको समान १० अंक छ । 

गुजरात टाइटान्सको ८ अंक छ । 

आजको खेल 
आज चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स खेल्दैछन् । खेल बेलुकी ७ः४५ बजे चेन्नईमा हुँदैछ । जित हासिल गर्दा पञ्जाबको प्लेअफको सम्भावना जीवित हुन्छ भने पराजित हुँदा बाहिरिने तेस्रो टिम बन्नेछ । 

घरेलु मैदानमा चेन्नईले जित्दा प्लेअफ मजबुद हुँदै जान्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ