arrow

कृषि क्षेत्रले साथ दिँदा आर्थिक वृद्धिमा सुधारको अनुमान, कुन क्षेत्रमा कति वृद्धि ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
veg-farming-kishan.jpg

काठमाडौँ । कृषि क्षेत्रको उत्पादनले साथ दिँदा यो वर्ष नेपालको आर्थिक वृद्धिमा सुधार देखिने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको लागि गरेको अनुमानमा आर्थिक वृद्धि बढेर ३.८७ प्रतिशत पुग्ने देखिएको हो । अघिल्लो वर्ष यो वृद्धिदर १.९५ प्रतिशतमा सीमित रहेको थियो । 

यो वर्ष नेपालको कुल गार्हस्थ उत्पादनको सबैभन्दा बढी हिस्सा ओगट्ने कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत हुने अनुमान छ । पर्याप्त पानी परेको तथा मलको अभावसमेत नभएकोले यो वर्ष कृषि उत्पादन बढेको अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ । 

चालु आर्थिक वर्षमा नेपालको कुल ग्राहस्र्थ उत्पादन ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यसमध्ये कृषि क्षेत्रले मात्रै १२ अर्ब १६ अर्ब रुपैयाँ बराबरको योगदान गर्नेछ । यो झण्डै २१.३२ प्रतिशत हो । अघिल्लो वर्ष नेपालको जीडीपी ५३ खर्ब ४८ अर्ब रुपैयाँ रहेको थियो । 

कार्यालयले वर्गीकरण गरेका २० क्षेत्रहरुमध्ये यो वर्ष १८ वटा क्षेत्रको वास्तविक वृद्धि सकारात्मक रहेको छ । त्यस्तै, कुल क्षेत्रमध्ये १२ वटा क्षेत्रको आर्थिक वृद्धि अघिल्लो वर्ष वृद्धिभन्दा धेरै हुने कार्यालयको तथ्यांक छ । 

यो वर्ष विद्युत् तथा ग्यास, खाद्य तथा आवास, यातायात तथा भण्डारणसम्बन्धी क्षेत्रको वृद्धिदर दोहोरो अंकमा हुने देखिएको छ । बैंक तथा वित्तीय संस्था, जनस्वास्थ्य, सूचना प्रविधि, पेशागत क्षेत्र, प्रशासनिक क्षेत्र र निजामति क्षेत्र तथा अन्य क्षेत्रमा समेत ४ प्रतिशत भन्दा धेरैको आर्थिक वृद्धि हुनेछ । 

आर्थिक वृद्धि नकारात्मक भएकाहरुमा उत्पादनमूलक र निर्माण क्षेत्र छन् । यी दुई क्षेत्रको वृद्धिदर क्रमशः –२.०७ प्रतिशत र –१.६० प्रतिशत रहने कार्यालयले जनाएको छ । उद्योग क्षेत्रको नकारात्मक वृद्धिदर यो वर्ष घटेको भए पनि निर्माण क्षेत्र भने अझै बढी नकारात्मक अवस्थामा पुगेको छ । 

त्यस्तै, आर्थिक वृद्धि सकारात्मक भएर पनि अघिल्लो वर्षको तुलनामा वृद्धिदर घट्ने अनुमान गरिएका क्षेत्रहरुमा विद्युत् तथा ग्यास, खानेपानी सरसफाइ र फोहोर व्यवस्थापन, प्रशासन, निजामति तथा सुरक्षा क्षेत्र, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित क्षेत्र रहेका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ