arrow

केपीको पालामा दुर्गालाई हतियार इजाजत दिने प्रजिअलाई कारबाही सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
durga-prasai-2080.jpg

काठमाडौँ । झापाका मेडिकल व्यवशायी दूर्गा प्रसाईलाई ‘इजाजत दिन नमिल्ने’ हतियार दिएको भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कारवाहीको सिफारिस गरिएको छ । केपी ओली प्रधानमन्त्री रहेको बेला हतियार राख्ने इजाजत पाएका प्रसाईलाई भन्दा अनुमति दिनेलाई कारवाही सिफारिस गरिएको छ । अवकाशप्राप्त कर्मचारी रहेका दाहाललाई कारवाहीको सिफारिस गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ । 

सर्वोच्च अदालत परिसरबाट २०८० चैत ५गते  दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद गरिएको हतियार ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको रहेको निकर्ष निकाल्दै छानबिन समितिले तत्कालिन सिडियो दाहाललाई कारवाहीको सिफारिस गरेको हो । सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाउँदै सो हतियार ‘इजाजत दिन मिल्ने खालको नदेखिएको’ ठहर गरेको थियो । ‘सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोके अनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको पाइएको छ,’ समितिको प्रतिवेदनमा भनिएको छ । 

छानबिन समितिमा कानुन महाशाखाका उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य र उपसचिव एकदेव अधिकारी सदस्य–सचिव थिए । प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा हतियारको इजाजतपत्र लिएका हुन् । उनले लिएको हतियारको इजाजतपत्र (लाईसेन्स) नम्बर १०१३१ हो । झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुद्धशान्ती–३ झापा घर भएका दीपक खड्कालाई बाहक तोकेर प्रसाईको नाममा हतियार इजाजतपत्र दिएका थिए । खड्का दुर्गा प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड हुन् ।

मोडल नम्बर ५ र सिरियल नम्बर ए–३५४७५२ नम्बरको २२ बोर बन्दुको इजाजतपत्र लिएका प्रसाईंका सुरक्षा गार्डको साथबाट प्रहरीले जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ र १ सय राउण्ड गोली बरामद गरेको थियो । अदालत परिसरबाट जर्मन स्पोर्ट गनसहित पक्राउ परेपछि त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए । हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार प्रमुख जिल्ला अधिकारीले हतियार राख्ने इजाजत दिन्छन् । 

तत्कालीन प्रमुख जिल्ला अधिकारी दाहालले प्रसाईलाई नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने अनुमति दिएका थिए ।‘हातहतियार खरखजाना राख्न पाउने (इलाका): नेपाल राज्य भर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने,’ इजाजतपत्रमा उल्लेख थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ