arrow

केपी र शेखरबीच राजनीतिक कोर्स करेक्सनबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
kp-oli-shekhar-koirala.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच राजनीतिक कोर्स करेक्सनको बारेमा छलफल भएको छ । अहिलेको समानुपातिक निर्वाचन प्रणालीले ल्याएको विकृति र यसले मुलुकको शासन व्यवस्थामा पारेको असरबारे छलफल भएको हो ।

‘उहाँहरुबीच करिब डेढ घण्टा कुराकानी भएको थियो, कांग्रेस नेता शेखर कोइरालाले समय लिएर भेट्न आउनु भएको थियो, कुराकानी सकारात्मक छ’, ओली निवास बालकोट स्रोतले भन्यो । 

भेटघाटको क्रममा एमाले अध्यक्ष ओलीलाई नेता कोइरालाले कोशी सरकारलाई निरन्तरता दिन आग्रह गरेको स्रोतले जनाएको छ । ओलीले यो विषयमा शुरुमै कांग्रेस स्पष्ट नभएको र एमालेले साथ दिँदा पनि माओवादीसँग डराएर त्यतिबेला एमालेसँग सहकार्य नभएको बताउँदै अहिलेको अवस्थामा अर्को गठबन्धन बनेकाले केही समय यसैलाई निरन्तरता दिने बताएका थिए । 

कोइरालाले कांग्रेस एमाले मुलुकका दुई ठूला राजनीतिक शक्ति भएकाले पनि राष्ट्रिय मुद्दामा एकताबद्ध भएर जानुपर्ने प्रस्तावमा ओली सकारात्मक बनेको स्रोतले जनाएको छ ।

कोइरालाले पटक–पटक कांग्रेस र एमाले मिलेर मुलुकलाई स्थायी सरकार दिनुपर्ने बताउँदै आएका छन् । खासगरी संक्रमणकालीन न्याय निरुपणका लागि कांग्रेस र एमालेको एउटै धारणा हुनुपर्नेमा नेता कोइरालाको धारणा थियो । कोशीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेले साथ दिएको थियो । 

त्यसमा कोइरालाले पनि यसलाई साथ दिएपछि एमालेले कांग्रेससँग सहकार्य गर्न खोजेको भए पनि तत्कालीन अवस्थामा माओवादीसँग सहकार्य तोड्न नखोज्दा एमाले बिच्किएको थियो ।  

कार्की नेतृत्वको सरकार बनाउने एमालेले साथ दिएपछि कार्की कोशीको मुख्यमन्त्री बनेका थिए तर विश्वासको मत लिएपछि कार्कीले माओवादीसहितका दललाई पनि सरकारमा ल्याएपछि एमालेले सरकार छोडेको थियो । 

त्यसपछि भने एमाले कोइरालासँग रिसाएको थियो । बुधबारको भेटमा पनि ओली सकारात्मक बन्न नसकेको स्रोतको दाबी छ । 

भेटघाटको क्रममा नेता कोइरालाले नेपालको निर्वाचन प्रणाली परिवर्तन नगरी राजनीतिक स्थिरता नहुने प्रष्ट पारेका थिए । 

निर्वाचन प्रणाली परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि कांग्रेस र एमाले नमिली दुई तिहाई बहुमत नपुग्ने उनको भनाइ थियो । 

‘राजनीतिक स्थिरताका लागि कांग्रेस एमाले मिल्नु पर्छ । निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ । कांग्रेस र एमाले नमिली राजनीतिक स्थिरता र आर्थिक विकास सम्भव छैन’, कोइरालाको भनाई उद्यृत गर्दै स्रोतले भन्यो ।

प्रत्येक वर्ष संघीय  र प्रदेशको सरकार परिवर्तनले मुलुकमा समस्या उत्पन्न हुनाले एउटा स्थिर सरकार निर्माणका लागि कांग्रेस र एमालेको बाहेक अन्य विकल्प हुन नसक्ने धारणा राख्दै आएका नेता डा. कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा वामपन्थी पार्टीका चार प्रधानमन्त्री नियुक्त भए पनि संविधान निर्माणका लागि कांग्रेसक नै आवश्यक परेको बताउँदै आएका छन् । 

उनले कांग्रेस र एमालेको संयुक्त सरकार निर्माणको पहल आफूले सुरु गरेको चर्चा गर्दै समय आएपछि कार्यान्वयन हुने धारणा पनि सार्वजनिक गर्दै आएका छन् । ओली–कोइराला भेटलाई राजनीतिक बजारमा अर्थपूर्ण रुपमा हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ