arrow

आर्थिक उपलब्धि नहुने देखिएको दमक टावर जासुसीमा प्रयोग हुनसक्ने आशङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
jhapa-view-tower-kp-oli-uml.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेपालमा पहाडका थुम्कादेखि तराईका समथर भूमिमा विकासको नाममा अग्ला भ्यु टावरले भरिएका छन्। तत्कालीन केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले यस्ता भ्यु टावर निर्माणमा जोड दिएको थियो। त्यसको उदाहरणमा दमक भ्यु टावर एक थियो। त्यसपछि सङ्घीय सरकार मात्र नभएर, प्रदेश सरकार र स्थानीय सरकारहरू पनि कङ्क्रिट टावर निर्माणमा गर्न लागि परे।  लाखौँ–करोडौँको बजेट छुट्टाउने र अग्ला भ्यु टावर ठड्याउने एक प्रकारको होडबाजी नै चल्यो । तत्कालीन एमाले–माओवादी एकतापछि बनेको सरकारले खर्चिला भ्यु टावर निर्माण गर्ने र मुलुकलाई आर्थिक भार पार्ने काम मात्रै भएको तर उपलब्धि भने हुन सकेको छैन। 

‘नेकपा सरकारको पालामा यस्ता भ्यु टावरहरू निर्माण भएको पाउँछौ’, आवास तथा भौतिक योजना मन्त्रालयका एक इन्जिनियरले भने। अहिले निर्माण भइसकेको र सञ्चालनमा आउन बाँकी रहेको दमक भ्यु टावरको व्यापारिक प्रतिफलको सुनिश्चित नरहेको सहरी विकास मन्त्रालयका अर्का एक इन्जिनियरको दाबी छ। ‘यसको व्यापारिक प्रतिफलको कुनै सुनिश्चितता छैन’, ती इन्जिनियरले भने। सरकारको बजेट खर्च गर्ने सही संयन्त्र नभएपछि पछिल्लो समय भ्यु टावरजस्ता अनावश्यक क्षेत्रमा प्रतिस्पर्धात्मक रूपमा अन्धाधुन्ध लगानी गरेर आर्थिक रूपमा मुलुकलाई व्ययभार थपिरहेको छ। दमक पनि यसकै उदाहरण रहेको सहरी विकास मन्त्रालयका ती इन्जिनियरको दाबी छ।

नेपालकै अग्लो भवनको रूपमा दाबी गरिएको दमक भ्यूटावरको निर्माण कार्य सम्पन्न भैसकेको छ। नेकपा सरकारको पालामा भ्यु टावरको नाममा मुलुकको अरबौँ रुपैयाँ नोक्सानी बेहोरेको गुनासो बढिरहेका बेला भर्खरै मात्र दमक भ्यु टावरको निर्माण कार्य सम्पन्न भएको हो। दुई अर्ब बढी रुपैयाँ खर्च गरेको बनाइएको दमकको बिजनेस टावर निर्माण सम्पन्न भए पनि त्यसको उपयोगिता हुन सकेको छैन। अब यसको उद्घाटन गर्न मात्र बाँकी छ। उद्घाटन हुनै लाग्दा पनि बिजनेस टावरलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न कसैले चासो देखाएका छैनन्। यसबाट उद्घाटनपछि पनि बिजनेस टावर रित्तै भएको प्रस्ट देखिएको छ।

केपी ओली प्रधानमन्त्री हुँदा दमकमा सय मिटर अग्लो १८ तले भ्यु टावर निर्माणका लागि २७ असार ०७६ मा ठेक्का लाग्यो । २७ पुस ०७८ मा सक्ने गरी चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष् र ओम साइराम जेभीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए। हाल यो योजनाको लागत बढेर एक अर्ब ७० करोड पुगेको छ। आगलागीसम्बन्धी सुरक्षाका काम थपिँदा यसको लागत पनि वृद्धि भएको थियो। भ्यु टावर निर्माणको काम समयमा नसकिएपछि दुई पटक म्याद थपिएको थियो। दमक नगरपालिका–३ ढुकुर पानीमा निर्माण भएको भ्यु टावर अहिले ‘ टावर’ मात्रै छ। त्यहाँ कुनै व्यापारिक योजना समेत बनेको छैन। कुल पाँच बिघा जमिनमा फैलिएको टावर १८ तलाको रहेका छ। टावरको भुईँ तलामा पार्किङ रहेका छ।

भुईँ तलादेखि तेस्रो तलासम्म पसलहरूका लागि छुट्टाइको भए पनि अहिले शून्य छ। चौथोदेखि नवौँ तलासम्म कर्पोरेट कार्यालय रहने र दसौँदेखि तेह्र तलासम्म ग्यालरी र प्रदर्शनी हल रहने गरी निर्माण गरिएको छ। टावरको १४ औँ र १५ औँ तलामा रेस्टुरेन्ट र क्याफे रहँदा १६ औँ र १७ औँ तला भने दृश्य अवलोकनको लागि छुट्टाइएको छ। त्योभन्दा माथि २८ मिटरको टावर रहेको छ। ‘नयाँ दमक’ नाम दिइएको यो परियोजना नगरपालिका र स्थानीयको सहकार्यमा बन्ने भनिए पनि अहिलेसम्म स्थानीय सरकारसँग सहकार्यका लागि प्रस्ताव पनि गरिएको छैन। जसमा स्थानीयले जग्गा उपलब्ध गराउने र नगरपालिकाले सडक, खानेपानी, ढल, बगैँचा, स्वास्थ्य चौकीलगायत पूर्वाधार निर्माण गर्ने भन्ने उल्लेख छ।

स्रोतका अनुसार २०८० फागुन १४ गते तत्कालीन सहरी विकास मन्त्री सीता गुरुङले बिजनेस टावरको उद्घाटन गर्ने तयारी गरेकी थिइन। यसको लागि मन्त्रालयले निमन्त्रणा कार्डसमेत छपाइसकेको थियो। त्यति बेला टावरको काम ९५ प्रतिशत मात्र पूरा थियो । तर यसको उपयोगिताबारे प्रश्न उठेपछि उद्घाटन हुनबाट रोकिएको थियो। साथै बिजनेस टावरको काम नसकिँदै उद्घाटन गर्न हतार भएको भन्दै विरोध भएको थियो। मन्त्रालय स्रोत भन्छ, यसको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफैँले गर्न चाहेका छन्। 

किनभने झापा ओलीको गृह जिल्ला हो। यो उनको ‘ड्रिम प्रोजेक्ट’ पनि हो। यसको उद्घाटनपछि टावरको सञ्चालन र व्यवस्थापनको जिम्मा कसले लिन्छ भन्ने अझै टुङ्गो लागेको छैन। मन्त्रालयका अनुसार अहिले पनि टावर निर्माण गरेको कम्पनीलाई १७ करोड रुपैयाँको हाराहारीमा भुक्तानी गर्न बाँकी छ। समयमा काम नसकिएपछि पहिलो पटक ०७८ पुसबाट ०७९ असार मसान्तसम्म म्याद थपिएको थियो। त्यसपछि गत असारबाट ०८० असार मसान्तसम्मलाई म्याद थपिएको थियो। अहिले निर्माण कम्पनीहरूले यसको पूरा पैसा पाइसकेका छैनन्। टावरको ठेक्का चिनियाँ कम्पनी तेडिआइ फिजेदले पाएको थियो भने ओम साइराम र आशिष् कन्स्ट्रक्सन त्यसका नेपाली साझेदार हो। 

सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले दमक बिजनेस टावरको सबै काम पूरा भइसकेको बताएका छन्। बिजनेस टावर बनाइरहेको ठेकेदार कम्पनीले पनि काम सकिएको दाबी गरेको छ। ‘सबै काम सकिएको छ, उपयुक्त समयमा उद्घाटन हुनेछ’, सचिव गेलालले भने।

महालेखापरीक्षकको ६०औँ प्रतिवेदनले सय मिटर अग्लो भ्यु टावर सञ्चालनको कार्यविधि र त्यसबाट त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन नै नभएको ठहर गरेको थियो। माग तथा आवश्यकता पहिचानका आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्ने महालेखाले सुझाव दिएको छ। यो पक्षलाई पनि बेवास्ता गरी भ्यु टावर निर्माण सम्पन्न गरिएको छ।

भ्यु टावर पहिले नै निर्माण सम्पन्न भइसकेको छ र उद्घाटनको प्रतीक्षामा रहे पनि तर कुनै पनि सरोकारवालाले व्यावसायिक टावरलाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न कुनै चासो देखाएका छैनन्।  हालसम्म १८ तलाको भवनको एउटा पनि व्यावसायिक प्रयोजनका लागि बुकिङ गरिएको छैन। बिजनेस टावर दमकमा स्थापित मार्करबाट करिब ६ किलोमिटर पश्चिममा रहेको हुनाले टावरबाट व्यवसाय सञ्चालन र व्यवस्थापन गर्न महँगो पर्ने भएको छ साथै बजारीकरण सहरीकरणमा समेत व्यवस्थित भई नसकेका र छिमेकी मुलुकबाट आउने पर्यटकहरूका लागि पनि कोल्टो पर्ने भएकाले यसको निर्माण स्थानको छनौटमै कमजोरी रहेको बताइएको छ। यसबाहेक, त्यहाँ सपिङ मल, जिम मल, अस्पताल वा ब्युटी पार्लर बने पनि छिट्टै नाफा कमाउने सम्भावना कम हुने भएकाले व्यापारिक प्रयोजनका लागि व्यापारिक समुदायले पनि चासो राखेका छैनन्।

यसका साथै सबैभन्दा गम्भीर विषय भनेको केपी ओली र नेकपा एमालेले नेकपा एमालेको विरोध गर्दै आएका जनजाति पहिचान पक्षका नेताहरूको गतिविधि र फोन अनुगमनका लागि चिनियाँ प्राविधिक कम्पनीको सहयोगी उपकरण जडान गर्न चाहेको आशङ्का रहेको छ। यो भवन पनि चिनिया कम्पनीले निर्माण ठेक्का पाएको हुनाले पनि आफ्नो उपकरण जडानका लागि जोड गरेको आशङ्का रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ