arrow

सरकार फेरबदलले मुलुकको अवस्था संकटपूर्ण बन्दैछ – शेखर कोइराला 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २२ शनिबार
shekhar-koirala-81-01-22.jpg

कोहलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश अत्यन्तै संकटको अवस्थामा रहेको बताएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नं १ र प्रदेश सभा ‘क’ र ‘ख’ को शनिबार कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार फेरबदलका कारण देश अत्यन्तै अप्ठेरो अवस्थामा रहेको बताएका हुन् ।

 ‘डेढ वर्षको अवधिमा तीन पटक सरकार परिवर्तन भइसक्यो, तीनै पटक सरकारको नेतृत्व गर्ने व्यक्ति प्रचण्ड भए’, उनले भने, ‘यही अवस्था रहिरह्यो भने पाँच वर्षमा पाँच सात वटा सरकार बन्ने अवस्था देखिन्छ । यसले देशलाई कहाँ पुर्याउँछ ?’ उनले पटक–पटक सरकार बदलिएसँगै नीतिसमेत फेरिने भएकाले मुलुकको अवस्था संकटपूर्ण बन्दै गएको बताए ।

 ‘सरकार फेरबदल हुनु अस्वभाविक होइन उनले भने, ‘नेपालमा सरकार फेरिएसँगै नीति पनि फेरिने अवस्था बनिरहेको छ । यसले मुलुकमा सुशासन र सम्वृद्धि कायम गर्न सक्दैन ।’ 

उनले राजनीतिक स्थायित्व नहुँदा मुलुक आर्थिक अवस्थाबाट समेत कमजोर बन्दै गएको उल्लेख गरे । हालै सम्पन्न लगानी सम्मेलनबाट विदेशीहरु नेपालमा लगानी गर्न खोजिरहे पनि राजनीतिक अस्थिरताका कारण ढुक्क भएर लगानी गर्ने वातावरण नभएको उनको भनाइ छ । उनले मुलुकको यो अवस्था फेर्नका लागि दुई ठूला शक्ति कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए ।

‘‘यो कठिन छ तर विकल्प छैन उनले भने–‘मुलुकलाई सधैं अस्थिर बनाइराख्ने हो भने कसरी सम्बृद्ध हुन सक्छ ?’ अहिलेको अवस्था चिर्न निर्वाचन प्रणाली फेर्नु पर्नेमा उनको जोड थियो । 

 ‘अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कसैको पनि बहुमत पुग्ने अवस्था रहँदैन जबसम्म बहुमत पुग्दैन सरकार बनाउन असम्भव छ उनले भने, ंकांग्रेस र एमाले मिल्ने हो भने करिब दुई तिहाइ पुग्छ र निर्वाचन प्रणाली फेर्न सकिन्छ । त्यसका लागि पनि दुई शक्ति एक हुन जरुरी छ ।’ 

उनले सरकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको विषयलाई पनि कार्यक्रममा उठाएका थिए ।

उनले गृहमन्त्री लामिछानेको कांग्रेसले राजीनामा नमागेको बताए । जनताहरुले नै सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको बताइरहेकाले कांग्रेस त्यही कुरा संसदमा उठाएको बताए । 

उनले गृहमन्त्रीको राजीनामा नमागेर कांग्रेसले उनीमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको बताए । उनले संसदमा यो विषय प्रवेश पाइसकेकाले संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले आफ्नो अडानबाट पछि नहट्ने पनि प्रष्ट्याए । 

उनले पार्टीभित्रको आन्तरिक विषयमा पनि आफ्नो धारणा राखेका छन् । उनले अवका चुनावमा गठबन्धन नहुने भएकाले एक ढिक्का हुन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले एक ढिक्का भएर पार्टीलाई बलियो बनाउनतर्फ लाग्न निर्देशन दिए ।

उपनिर्वाचनको चुनावमा भएको पराजयले कांग्रेसलाई थप बलिएको बनाएको स्मरण गर्दै वरिष्ठ नेता डा कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ताहरु एक हुनुपर्ने बताए । 

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा गुटउपगुट हुनु स्वभाविक भए पनि आमनिर्वाचनमा टिकट जसले पाए पनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका डा. कोइरालाले पार्टीलाई गतिशील र चलायमान बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए । 

यस्तै कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले मुलुकको वृहत्तरहितका लागि कांग्रेस बाहेक अरु पार्टीको कल्पना गर्न नसकिने बताए । मुलुकका हरेक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले स्मरण गरे । उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएकोसमेत बताए । उनले पार्टीमा त्यागको संस्कार सिक्न पनि कार्यकर्ताहरुलाई सुझाव दिए ।

यस्तै कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसलाई बलियो बनाउन संगठनका गतिविधिहरुलाई चलायमान बनाउनुपर्ने बताए । उनले भ्रातृ संस्थाहरुको परिचालन हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । 

पार्टीमा अनुशासन आवश्यक रहेकोमा पनि उनले जोड दिए । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराब व्यक्तिहरुलाई पुरष्कृत गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै त्यसलाई नीतिगत रुपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले मुलुकको विकासका लागि कांग्रेसको नेतृत्व बाहेक अरु पार्टी असफल भएको बताए । 

कांग्रेस क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा भएको दोस्रो सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्यहरु सञ्जय गौतम, गोपाल दहित, मधु आचार्यलगायतले पनि आआफ्नो धारणा राखेका थिए । आर्थिक र सांगठनिक प्रतिवेदन समेत पास गरिएको उक्त सम्मेलनमा विभिन्न व्यक्तिहरुलाई सम्मानित समेत गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ