arrow

पत्रकार दियाली आर्थिक समस्याबीच वीरमा नियमित डायलासिसमा, सहयोगको याचना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २२ शनिबार
pb-diyali-sunsari-patrakar.jpg

सुनसरी । दुवै मिर्गौला फेल भएपछि सुनसरी इटहरीका पत्रकार पीबी दियाली काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहेका छन् । नियमित डायलासिस गर्नुपर्ने भएपछि उनलाई आर्थिक समस्याले सताएको छ । घरखेत बेचेर उपचार गराइरहेका दियालीले सहयोगको याचना गरेका छन् ।

शनिबार इटहरीका सक्रिय पत्रकार एवम प्रदेशखबर डटकमका सम्पादक पवन अधिकारीले दियालीलाई भेटेर १५ हजार नगद हस्तान्तरण गरेका छन् । त्यस्तै हेटौंडाका व्यवसायी गोपाल थापाले आर्थिक सहयोग संकलनका लागि अभियान संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उपचारका लागि सरकार, सामाजिक सङ्घ–संस्था र दाताहरूसँग सहयोगका लागि याचना गरेपनि त्यो प्रभावकारी नभएको उनले बताए । पत्रकार दियालीले पत्रकार महासंघले सहयोग संकलनका लागि अभियान संचालन गरिदिन माग गरेका छन् ।  अन्य संघसंस्थालाई पनि सहयोग अभियान संचालन गरिदिन आग्रह गरेका छन् ।

इटहरीमा बसेर २९ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दियालीले आफनो दुवै मिर्गौला खराब भएको र उपचारका लागि आफूसँग आर्थिक अवस्था कमजोर बनेकाले बाध्य भएर सहयोगको याचना गर्नुपरेको बताए ।

दियालीका अनुसार मिर्गौला फेर्नका लागि मृगौलादाता जुटे पनि दाता र बिरामी दुवैको खर्च जुटाउन झनै कठिन भएको छ । मिर्गौला फेरेर स्वस्थ्य रहन लगभग ६० लाखमाथि खर्च हुने अनुमान छ ।

४६ वर्षीय पत्रकार दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुन् । उनले लामो समय धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा पत्रकारिता गरेका थिए ।

उनले इटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गरेका थिए । पत्रकार दियालीकाअनुसार उनी सङ्कटकालको समयमा तीन महिना हिरासतमा परेका थिए । उनलाई  ३ सय ३५ दिन नजरबन्दमा पनि राखिएको थियो ।

पत्रकार दियाली हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक छन् । उनी नेपाल दलित पत्रकार सङ्घ र  समाजवादी प्रेस सङ्गठनको केन्द्रीय सदस्य हुन् । उनले सम्पत्तिका नाममा आफूसँग इटहरीमा सानो घर पनि बेचेर उपचारमै खर्च गरिरहेको सुनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ