arrow

नागरिक लगानी कोषमा पेन्सन योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
citizen-investment-trust-bu.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नागरिक लगानी कोषमा नागरिक पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक–कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने कोषले जनाएको छ । 

कोषले नागरिक पेन्सन योजनाका लागि विभिन्न मापदण्ड रहेको जनाएको छ । जस्तो कि यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक रु. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । 

बचतकर्ताको आम्दानीको आधारमा मासिक÷त्रैमासिक÷अर्धवार्षिक÷वार्षिक रूपमा रकम जम्मा गर्न सकिने विशेषतासमेत रहेको छ । यस्तो  किस्ता बुझाउँदा मासिक रु.५०० भन्दा कम नहुने गरी बुझाउनु पर्नेछ । 

पेन्सन पाउन योग्य हुने अवस्थाः पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्र्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भूक्तानी लिन वा पेन्सनको रुपमा भूक्तानी लिन सक्नेछन् । 

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । 

पेन्सन गणना विधिः सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने छन् । 

योजनामा रकम जम्मा गर्ने विधिः सहभागी बचतकर्ताले जम्मा गर्नुपर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा विद्युतीय भुक्तानी मार्फत जम्मा गर्न सक्ने छन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनु पर्नेछ । कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकम प्रति कोषको कुनै दायित्व रहने छैन ।

कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्ने छ । रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नु पर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ । गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले लिने छैन ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ