arrow

वाणिज्य बैंकहरुको नाफा पाँच अर्बले घट्यो, इम्पेरिमेन्ट चार्जमा १० अर्ब थपियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
banks-nepal-final.jpg

काठमाडौँ । वाणिज्य बैंकहरुले नौ महिनामा झण्डै ४२ अर्ब नाफा कमाएका छन् । आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमास (चैत) सम्म बैंकहरुले ४१ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको रिपोर्ट प्रस्तुत गरेका हुन् । 

बैंकहरुको यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ अर्ब १ करोड (१०.९६ प्रतिशत) ले कम हो । अघिल्लो वर्षको चैतसम्म वाणिज्य बैंकहरुको नाफा ५४ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो । 

यसरी नाफा कमाउने बैंकहरुमा सबैभन्दा पहिलो स्थानमा नबिल बैंक रहेको छ । सो बैंकले यो अवधिमा ४ अर्ब ६६ करोड नाफा कमाएको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले ३ अर्ब ३० करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब २७ करोड नाफा कमाएका छन् । 

यो अवधिमा अन्य ६ वटा बैंकले २ अर्ब भन्दा धेरै नाफा कमाएका छन् । जसमा प्राइम कमर्शियल बैंक २ अर्ब ८७ करोड, एभरेष्ट बैंक २ अर्ब ६० करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक २ अर्ब ४४ करोड, राष्ट्रिय वाणिज्य बैंक २ अर्ब २७ करोड, एनएमबि बैंक २ अर्ब २६ करोड र कृषि विकास बैंकले २ अर्ब २ करोड रुपैयाँ नाफा कमाएका छन् । 

त्यस्तै, ११ बैंकहरुले २ अर्ब भन्दा कम नाफा कमाएका छन् । यसमध्ये हिमालयन बैंकले १ अर्ब ९४ करोड, एनआईसी एसिया बैंकले १ अर्ब ९१ करोड, प्रभु बैंकले १ अर्ब ८१ करोड, सिद्धार्थ बैंकले १ अर्ब ६८ करोड तथा लक्ष्मी सनराइज बैंकले १ अर्ब ६१ करोड नाफा कमाएका छन् । 

सानिमा बैंकले १ अर्ब ४३ करोड, नेपाल बैंकले १ अर्ब ३० करोड, सिटिजन्स बैंकले १ अर्ब २१ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब १६ करोड, कुमारी बैंकले १ अर्ब ५ करोड र माछापुच्छ्रे बैंकले ८५ करोड रुपैयाँ नाफा कमाएको देखिएको छ । 

७ बैंकको नाफा बढ्यो, १३ को घट्यो
यो अवधिमा ७ बैंकले मात्रै नाफा वृद्धि गर्न सफल भएका छन् । यसरी नाफा बढाउने बैंकहरुमा कृषि विकास बैंक सबैभन्दा अगाडि छ । उक्त बैंकले यो वर्ष ९७.२३ प्रतिशतले नाफा बढाएको छ । बैंकको निष्क्रिय कर्जा अनुपातसँगै इम्पेरिमेन्ट चार्ज घट्दा नाफामा उच्च वृद्धि देखिएको हो । 

त्यस्तै लक्ष्मी सनराइज बैंकको नाफा यो अवधिमा २७।८१ प्रतिशतले बढोत्तरी भएको छ । लक्षी र सनराइज बैंकबीच मर्जर भएका कारण दुई बैंकको नाफा जोडिँदा यो वृद्धि देखिएको हो । 

प्राइम कमर्शियल बैंकको नाफा १६.६६ प्रतिशतले बढेको छ । निष्क्रिय कर्जा वृद्धिका बाबजुत बैंकको नाफामा सुधार भएको देखिएको छ । 

त्यस्तै सिद्धार्थ बैंकले १३.०२ प्रतिशतले नाफा बढाएको छ । निष्क्रिय कर्जाको अनुपातमा १ प्रतिशत भन्दा धेरै सुधार आउँदा उक्त बैंकको नाफा बढेको हो । 

हिमालयन बैंकको १२.०१ प्रतिशत नाफा वृद्धिसँगै दोहोरो अंकमा नाफा बढाउने बैंकमा परेको छ । यो अवधिमाा बैंकको निष्क्रिय कर्जा बढे पनि इम्पेरिमेन्ट चार्जमा राख्नुपर्ने रकम घट्दा नाफा बढ्न गएको हो । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एभरेष्ट बैंकले एकल अंकमा नाफा वृद्धि गरेका छन् । एनआईएमबीको नाफा ७.५२ प्रतिशतले बढ्दा एभरेष्ट बैंकको वृद्धि ५.७७ प्रतिशत रहेको छ । त्यसमध्ये एनआईएमबीको निष्क्रिया कर्जा घट्दा एमरेष्ट बैंकको स्थिर छ । 

यो अवधिमा सबैभन्दा धेरै नाफा गिरावट एनआईशी एसिया बैंकको छ । उक्त बैंकको नाफा ५२.३१ प्रतिशतले घटेको छ । निष्क्रिय कर्जा अनुपातमा १ प्रतिशत विन्दु भन्दा धेरै वृद्धि हुँदा बैंकको नाफामा दबाब परेको हो । 

त्यस्तै माछापुच्छ्रे बैंकको नाफा पनि ३६.७३ प्रतिशतले घटेको छ । उक्त बैंकको निष्क्रिय कर्जा यो अवधिमा १.३१ प्रतिशत विन्दुले बढ्दा इम्पेरिमेन्ट चार्ज बढ्न पुगेको छ । 

यसले नाफा घटाएको छ । त्यस्तै, नेपाल एसबीआई बैंकको नाफा पनि ३५.४४ प्रतिशतले घटेको छ । यो बैंकको निष्क्रिय कर्जा पनि १.०१ प्रतिशत विन्दुले बढेको देखिएको छ । 

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि करिब ३३.६१ प्रतिशत, ग्लोबल आईएमई बैंकको २४.१३ प्रतिशतले नाफा घटेको छ । कुमारी, सानिमा र एनएमबि बैंकको नाफा दोहोरो अंकले घटे पनि यो २० प्रतिशत भन्दा कम नै छ । 
 
यो अवधिमा एकल अंकमा मात्रै नाफा घट्ने बैंकहरुमा नबिल बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिटिजन्स बैंक रहेका छन् । 

६ बैंकलाई निष्क्रिय कर्जाको दबाब
यो अवधिमा ६ वटा वाणिज्य बैंकलाई निष्क्रिय कर्जा अनुपात (एनपीएल) को उच्च दबाब परेको छ । यसमध्ये लक्षी सनराइज बैंकको एनपीएल ५.४९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १.४२ प्रतिशत मात्रै रहेको बैंकले जनाएको छ ।

त्यस्तै, हिमालय बैंकको ४.९६, नेपाल बैंकको ४.८५, प्रभु बैंकको ४।८१, ग्लोबल आईएमई बैंकको ४.७४, राष्ट्रिय वाणिज्य बैंकको ४.३० प्राइम कमर्शियल बैंकको ४.२९ प्रतिशत निष्क्रिय कर्जा कायम भएको छ । यी सबै बैंकको एनपीएल यो वर्ष बढेको देखिएको छ ।

त्यस्तै सिटिजन्स बैंक, माछापुच्छ्रे  बैंक र कृषि विकास बैंकको निष्क्रिय कर्जा पनि ३ प्रतिशतभन्दा बढी छ । यीमध्ये माछापुच्छ्रे बैंकको एनपीएल यसपटक बढेको हो भने अरु दुई बैंकले सुधार गरेका हुन् । एनएमबी, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निष्क्रिय कर्जा अनुपात पनि २ प्रतिशत भन्दा धेरै छ । 

चैतसम्मको अवधिमा ११ वटा बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढेको छ । ८ वटा बैंकले सुधार गर्दा एभरेष्ट बैंकको एनपीएल बराबर देखिएको छ ।

इम्पेरिमेन्ट चार्जमा झण्डै १० अर्ब थपियो
अघिल्लो आर्थिक वर्षको चैतदेखि यो आर्थिक वर्षको चैतसम्म मात्रै बैंकहरुले ९ अर्ब ८४ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्जबापत प्रोभिजनिङ गरेका छन् । अघिल्लो वर्ष यो शीर्षकमा ३० अर्ब ३ करोड रुपैयाँ प्रोभिजनिङ गरेका बैंकहरुले अहिले यो रकम ३९ अर्ब ८७ करोड रुपैयाँ पुर्याएका हुन् । 

प्रवाहित ऋणको नउठ्न सक्ने सम्भावनाको आधारमा यस्तो रकम छुट्याइन्छ । अहिले असल कर्जाबापत १।३ प्रतिशत, शुक्ष्म निगरानी कर्जाबापत ५ प्रतिशत, कमशल कर्जाबापत २५ प्रतिशत, शंकास्पद कर्जाबापत ५० प्रतिशत र खराब कर्जाबापत शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था छ । बैंकको निष्क्रिय कर्जा अनुपात बढ्दै जाँदा त्यसबापत प्रोभिजनिङ गर्नुपरेको हो । कर्जा असुली भएसँगै यो रकम नाफामा जोड्न पाइन्छ । 

बैंकहरुको नाफा ५ अर्बले घट्दा प्रोभिजनिङ १० अर्ब बढ्नुले बैंकहरु दीर्घकालीन रुपमा बलियो नै रहेको देखिन्छ । निकट भविष्यमा अर्थतन्त्र सहज भएर निष्क्रिय कर्जाहरु उठ्दै गर्दा बैंकहरुको अवस्था सुध्रिँदै जानेछ । यद्यपि केही बैंक भने वास्तवमै समस्यामा रहेको देखिएको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ