arrow

वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छ- कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
congress-party-office-2081.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन् ।  शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए । 

उनले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमहरूबाट स्पष्ट हुने बताए । उनले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तीभर अंश नरहेको जिकिर गरे । उनले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताए । उनले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली कांग्रेस सचेत र सजग रहेको बताए । 

उनले भने ‘अहिले जुन गठबन्धन बनेको छ, यो अप्राकृतिक किसिमबाट बिनेको छ । त्यहाँ एक अर्काप्रति विश्वास छैन । विभिन्न प्रदेश सरकार बनाउने क्रममा होस्, केन्द्रकै विभिन्न निर्णयमा होस्, नियालेर नै हेरिरहनुभएको छ । त्यहाँ विश्वासको रत्तीभर पनि अंश छैन । मूलतः अवसरको हिसाबले कहाँकहाँ केके नियुक्ति गर्नुपर्छ, कसो गर्नुपर्छ, कहाँ कसको के भूमिका हुन्छ, बजेटमा पनि कसरी हामीले जुन एउटा अनुशासनमा लगिरहेका थियौँ, त्यो जनताबाट उठेको करको दुरुपयोग हुनु हुँदैन, त्यसको प्राथमिकताको आधारमा जनताकै पक्षमा खर्च हुनुपर्छ, जथाभाबी गर्ने छुट कसैलाई छैन भन्ने मान्यताका साथ हामीले काम गरिरहेका थियौँ । कतिलाई त्यो चित्त बुझिरहेको रहेनछ । आफूखुसी गर्न पाइएन भन्ने लागिरहेको रहेछ । यो शुद्ध अवसर छोप्नका लागि बनेको गठबन्धन हो । त्यसैले आफ्नै बोझ, अविश्वास, विरोधाभासको बीचमा यो गठबन्धन बनेको छ । त्यही बोझले नै यसको पतन हुन्छ । छोटै समयमा पतन हुने निश्चित छ । त्यसैले यसमा हामीले धेरै चलखेल गरिरहनुपर्ने आवश्यकता छैन । पतन भइसकेपछि कसरी जाने भन्नेमा हामी अलर्ट छँदै छौँ । सचेत छौँ । केन्द्रको गठबन्धन बनाउने बारेमा केही कुराकानी भएको छैन, प्रदेशमा भयो होला ।’ 

प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताए । अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ