arrow

एसीसी प्रिमियर कप

एसिया कपबाट बाहिरिएको नेपाल इमर्जिङ कप खेल्न हङकङसँग भिड्दै  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
nepal-hk-24-03-10.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ओमानमा भइरहेको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत तेस्रो स्थानको लागि नेपालले हङकङसँग खेल्ने भएको छ । 

शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले तथा हङकङ ओमानसँग ५ विकेटले पराजित भएपछि तेस्रो स्थानको लागि आपसमा भिड्न लागेका हुन् । 

तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४ः १५ बजेदेखि हुने छ । 

उपाधि जित्ने टिमले एसिया कप खेल्न पाउनेमा नेपाल चुकिसकेको छ । अब तेस्रो स्थानसम्म ओगट्ने टिमले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुने भएकाले तेस्रो स्थानका लागि नेपालले खेल्नेछ । 

समूह चरणमा नेपालले हङकङलाई हराएकाले तेस्रो स्थानको भिडन्तमा पनि नेपाल हावी हुने अपेक्षा गरिएको छ । 

प्रिमियरको कपको फाइनलमा आयोजक ओमान र यूएई आइतबार खेल्ने छन् ।

सेमिफाइनलमा नेपाल यूएईसँग पराजित
सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भयो । नेपालले कमजोर ब्याटिङ गर्र्दै ९ विकेटको क्षतिमा मात्र ११९ रन बनायो र सन्दीप जोराले ४० बलमा ५० रन बनाएको इनिङ्समा गुल्सन झाले १६ बलमा २० तथा करण केसीले १२ बलमा १७ रन बनाए । 

त्यस बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । जुनैद सिद्धिकी, बसिल हमीद र अलि नासीरले २–२ विकेट लिए । 

जवाफमा यूएईले १७.२ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । ओपनर अलिशान शराफूले ४१ बलमा अविजित रहँदै ५५ रन बनाए । 

नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले १–१ विकेट लिए । 

यसअघि नेपालले यूएईलाई नै पराजित गरेर एसिया कप खेल्न पाएको थियो भने अहिले यूएईसँग हारेरै नेपाल एसिया कप खेल्नबाट वञ्चित भएको छ । 

नेपाल र यूएई एसोसिएट्स देशका चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् । यी दुई बीचको खेललाई एसोसिएट देशको क्लासिकोसमेत भनिन्छ । 

नेपाल र यूएईबीच अहिलेसम्म १० टी–२० खेल भएका छन् । जसमा दुवैले समान ५ खेल जितेका छन् । 

नेपालको समूह चरणको यात्रा
समूह चरणमा सतप्रतिशत नतिजासहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा साउदी अरेबिया, हङकङ, कतार र मलेसियालाई पराजित गर्दै समूह विजेता बनेको हो । 

नेपाल र साउदीको चौथो खेल
नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियालाई ६ विकेटले पराजित गर्यो । 

७४ रनको विजयी लक्ष्य नेपालले ७.२ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । प्लेयर अफ द म्याच गुल्सन झाले १९ बलमा ३२ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ९ बलमा १७ तथा रोहित पौडेलले ७ बलमा अविजित रहँदै १६ रन बनाए । 

कुशल मल्ल र आसिफ शेखले समान २–२ रन बनाउँदा कुशल भुर्तेल शून्यमै आउट भए । 

यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्दै वर्षाका कारण खेल आठ ओभरमा मात्र झारिएको खेलमा साउदीलाई ७३ रनमा रोकेको हो । 

साउदीले ७ विकेटको क्षतिमा ७३ रन बनायो । अब्दुल वाहिदले १६ बलमा ३७ रन बनाएको इनिङ्समा अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

करण केसी र अविनाश बोहराले २–२ विकेट लिए । त्यस्तै ललित राजवंशी र प्रतिस जीसीले १–१ विकेट लिए ।  

हङकङ र नेपालबीचको तेस्रो खेल
सोमबार भएको तेस्रो खेलमा नेपालले हङकङमाथि ८ विकेटको सहज जित हासिल गर्यो । जितका लागि ११५ रनको सामान्य चुनौती पाएको नेपालले १२.२ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि आसिफ शेखले १८ बलमा ४०, कुशल भुर्तेलले १९ बलमा ३२, कप्तान रोहित पौडेलले २० बलमा अविजित रहँदै २५ तथा सन्दीप जोराले अविजित रहँदै १९ रन बनाए । 

यसअघि खेल टस नहुँदै वर्षाले गर्दा अवरुद्ध हुँदा ढिलो शुरु भएकाले १८ ओभरमा झारिएको खेलमा हङकङले टस हारेर पहिले ब्याटिङ गर्दै एक बल खेल्न बाँकी छँदै अलआउट भएर ११४ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि अविनाश बोहराले ३ तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । करण केसीले १ विकेट लिए । दुई खेलाडी रनआउट भए ।  

ऐरीले अन्तिम ओभर बलिङ गर्दै ५ बलमा ६ रन दिएर २ विकेट लिएका हुन् । 
यो खेलमा जित हासिल गर्दा समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नुअघि नै नेपालले सेमिफाइनलमा ठाउँ बनाउन सक्नेछ । 

नेपाल र कतारबीचको दोस्रो खेल
नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्यो । 

नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१० रन बनायो । 

खेलमा आसिफ शेखको संयम तथा दिपेन्द्र सिंह ऐरी र कुशल मल्लको आक्रमणमा नेपालले उक्त योगफल बनाएको हो । 

ऐरीले २१ बलमा अविजित रहँदै ६४ रन बनाए । उनी एक्लैले ७ छक्का हाने । दिपेन्द्रले एकै ओभरमा ६ छक्का हानेर रेकर्ड राखे । दिपेन्द्र अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी हुन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतका युवराज सिंहले इङ्गल्याण्डविरुद्ध सन् २००७ मा र वेस्ट इण्डिजका केरन पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

एक दिवसीय विश्वकपमा सन् २००७ मा दक्षिण अफ्रिकाका हर्सल गिब्सले नेदरल्यान्ड्सविरुद्ध पनि एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

यसअघि दिपेन्द्रले चीनको हाङझाउमा १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउने क्रममा लगातार ६ छक्का प्रहार गरेका थिए । तर त्यो एके ओभरमा भने सम्भव भएको थिएन । 

कतार विरुद्धको खेलमा आसिफ शेखले ४१ बलमा ५२ तथा मल्लले १८ बलमा ३५ रन बनाए । कप्तान रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन बनाए । 

जवाफमा कतारले ९ विकेटको क्षतिमा १७८ रन बनाउन सक्यो । कप्तान मुहम्मद तन्वीरले ३३ बलमा ६३ रन बनाएको इनिङ्समा अलराउन्डर दिपेन्द्रसँगै ललित राजवंशी र गुल्सन झाले समान २–२ विकेट लिए । कुशल र अविनाश बोहराले १–१ विकेट लिए ।

नेपाल र मलेसियाबीचको पहिलो खेल
नेपालले विजयी शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।  

ओमानको अल अमेरत क्रिकेट मैदानमा १४४ रनको चुनौती नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि आसिफ शेखले ३५ बलमा ३२, कप्तान रोहित पौडेलले २४ बलमा २८, कुशल भुर्तेलले २४ बलमा २४, दिपेन्द्र सिंहले ११ बलमा २०, गुल्सन झाले ७ बलमा अविजित रहँदै १९ तथा सन्दीप जोराले ९ बलमा अविजित रहँदै १२ रन बनाए । 

खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १४३ रन बनायो । कप्तान विरनदीप सिंहले ५७ बलमा अविजित रहँदै ७२ रन बनाए । 

शरविन मुनिअन्डीले ३३ बलमा ४१ तथा मुहमद अमिरले १८ बलमा १६ रन बनाए । नेपालका लागि बलरहरुले कुनै जादू देखाउन सकेनन् । 

दिपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए । 


    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ