arrow

इलाम २ को राजनीतिक नाफाघाटा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
suhang-dambar-dekendra-milan.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन ०७९ को मा  नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग १ सय १४ मतको झिनो अन्तरले पराजय भोगेका कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्काले छोरो सुहाङ नेम्वाङसँग ठूलो मतान्तरले पराजय भोगे । 

जित्ने अपेक्षासहित उपनिर्वाचनमा होमिएका खड्काले यसपटक कांग्रेसको मत जोगाए तर आफू भने हारे । पिता सुवासचन्द्र नेम्वाङसँग गत साल टेस्ट म्याच खेलेका खड्काले ‘फाइनल खेल’ मा छोरा सुहाङ नेम्वाङलाई पराजय गर्न सकेनन् । 

स्थानीय तहमा भिजेका खड्काले यसपटक आफू उम्मेदवार हुनुको कारण र काग्रेसले नै जित्नुपर्ने बलियो आधार प्रस्तुत गर्दा गर्दै पनि बलियो प्रतिस्पर्धीका कारणले मतपरिणामले साथ दिएन । २०७४ सालको प्रदेश सभा निर्वाचनमा पनि एमालेकै उम्मेदवार राम राना मगरसँग खड्का पराजय भएका थिए । यो हिसाबले उनको पराजयलाई ‘ह्याट्रिक’ मान्न सकिन्छ ।

प्रतिनिधि सभाको चुनाव ०७९ मा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत पाउँदा कांग्रेसका डम्बरबहादुर खड्काले माओवादीको समेत जोडेर २९ हजार ९०६ मत पाएका थिए । 

समानुपातिकतर्फ भने एमालेले २६ हजार ५६२ मत मात्रै पाएको थियो । यसको अर्थ, त्यतिबेला सुवास नेम्वाङको व्यक्तित्वले ४ हजार भोट बढी तानेको देखिन्थ्यो । कांग्रेसको पनि प्रत्यक्षमा भन्दा समानुपातिकमा कम भोट खसेको थियो । 

कांग्रेसले प्रत्यक्षमा २९ हजार ९०६ भोट पाउँदा समानुपातिकमा २२ हजार ३३३ मत मात्र खसेको थियो । त्यतिबेला कांग्रेसलाई माओवादी र नेकपा एसले साथ दिएको थियो । 

इलाम २ बाट माओवादीले ०७९ सालमा समानुपातिकतर्फ ५ हजार १५३ मत पाएको थियो । एकीकृत समाजवादीको समानुपातिक मत ५८६ मात्रै खसेको थियो । 

यहाँ जसपाको प्रत्यक्षतर्फको मत ७२४ थियो भने समानुपातिकमा उसले ९०६ मत ल्याएको थियो । अहिले जसपाको समर्थन पहिचानवादीलाई थियो । ०७९ को चुनावमा इलाम क्षेत्र नम्बर २ मा कुल १ लाख १५ हजार ३४२ मतदाता थिए । अहिले त्यसमा ४२२ मतदाता थपिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले त्यतिबेला समानुपातिकमा ४ हजार ६८६ मत ल्याएको थियो अहिले मिलन लिम्बू आफैँ त्यस पार्टीबाट उठ्दा पाँच हजार ५० मत ल्याए । 

पहिलाको तुलनामा रास्वपाको मत केही मात्रामा बढेको देखिन्छ । यस क्षेत्रबाट गत चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३८० मत मात्रै पाएका थिए । 

तर समानुपातिकतर्फ भने घण्टीमा ४ हजार ६८६ मत परेको थियो । यही मतलाई आधार बनाएर रास्वपाले चुनाव जित्ने दाबी गरेर मिलनलाई उम्मेदवार बनाएको थियो । तर पनि रास्वपाले अपेक्षाकृत मत ल्याउन  सकेन ।

कांग्रेसले पनि अपेक्षाकृत मत हासिल गर्न नसकेको अवस्था छ । खासगरी आम निर्वाचन भन्दा यसपल्ट कांग्रेसले आफ्ना नेता कार्यकर्ता परिचालनमा चुकेको बताइन्छ । 

त्यतिमात्र होइन काठमाडौँ र झापाबाट जानुपर्ने मतादाताहरुलाई पनि राम्रोसँग मतदानस्थलसम्म पुर्याउन नसक्नु अर्को कारणपनि रहेको छ । 

अर्कोतर्फ कांग्रेस आफैले जित्ने गरी तयारी गरेकोमा एमालेले पहिचान विरोधी नारा लागेको ठाउँमा निकै मेहनतपूर्वक आफ्नो मत सुरक्षित गर्नुपनि कांग्रेसका लागि यसपटक अनपेक्षित भएको थियो ।

‘समग्रमा हाम्रो मत सुरक्षित भयो तर पहिचानको पक्षमा जाने एमालेको मत रोकिदा कांग्रेसले जित्ने अवस्था रहेन’, कांग्रेसका एक नेताले भने । ती नेताका अनुसार पनि सन्दर्भमा आर्थिक पक्षले पनि काम गरेको थियो ।

‘विगतमा कांग्रेसको तर्फबाट जति आर्थिक व्यवस्थापन भएको थियो यो पल्ट आर्थिक अवस्था अलि कमजोर पनि देखियो’, ती नेताले भने, ‘केही छिटपुट बाहेक निर्वाचनको बेला कांग्रेस एक ढिक्का रह्यो तर रास्वपा र पहिचान पक्षमा मत जति आउने अनुमान गरिएको थियो त्यो विश्लेषणमा कांग्रेस चुकेको छ ।’

एमालेको किरात धर्मगुरु आत्मराम लिङ्देन बसोबास रहेको वडाबाट झिनो मत पाएको थियो । पहिचान पक्षधरले एक हजार बढी मत ल्याउँदा एमालेले ६९ मत मात्रै पाएको थियो । 

तर त्यसको साटो एमालेले अन्य स्थानबाट राम्रो मत लिदै अघि बढ्यो । किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल लारुम्बा रहेको माङ्सेबुङ गाउँपालिका वडा ५ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले सबैभन्दा बढी मत ल्याएका थिए । 

प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारले सय मत नकटाउँदा थेगिमको मुढा चिह्नमा सबैभन्दा बढी मत आएको हो । थेगिमले यो वडामा १ हजार ३२ मत ल्याए । नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ६९, कांग्रेस उम्मेदवार डम्बर खड्काले ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले यो वडामा ३ मत ल्याएका छन् । 

२ हजार ७ मतदाता रहेको यो वडामा १ हजार १ सय ९२ मत खसेको थियो ।  यसरी हेर्दा एमालेलाई पहिचान पक्षधरहरुले पनि खास अप्ठेरो पारेनन । उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेदेखि एमाले, कांग्रेसलगायत दलका नेतासमेतले निर्वाचन मुखमा गुरुसँग दर्शन भेट गर्नुले ‘राजनीतिक अपेक्षा’को चर्चा चलेको थियो । एमाले र कांग्रेसलाई धर्म गुरुको आसिरवाद प्राप्त हुन सकेन ।

जमानत जोगाउनेदेखि जफतसम्म
इलाम क्षेत्र २ को उपनिर्वाचनका १९ उम्मेदवारमध्ये १६ जनाको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनीहरूको धरौटी गुमेको हो । 

१२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेकामा एमाले, कांग्रेस र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिममात्र जमानत जोगाउन सफल भए । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार कुल सदर मतको १० प्रतिशत मत नल्याए धरौटी जफत हुन्छ । 

उम्मेदवारी मनोनयन दर्ता गराउँदा उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राख्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत १० दल र छ स्वतन्त्र उम्मेदवारले १० प्रतिशत मत ल्याउन सकेनन् । 

यो क्षेत्रमा कुल सदर मत ६८ हजार ४ सय ७२ छ । यसको १० प्रतिशत ल्याउन छ हजार ८ सय मत चाहिन्छ । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र ल्याए । राप्रपा उम्मेदवार लक्ष्मी गुरुङले ४०४, जनमत पार्टीका प्रेम थाम्सुुहाङले ११८, नेकपा (एस)का जितबहादुर राईले ४०८, नेपाल मजुदर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, मंगोल नेसनल अर्गनाइजेसनका मणि लिम्बूले ८१६ मतमात्र ल्याएर धरौटी गुमाए ।

राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, नेपाल जनता दलका रेशबहादुर सुनुवारले २०६, नेसनल रिपब्लिकन नेपालका धन रानामगरले ३६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्तविक्रम साहले ४३ मत ल्याए । 

उनीहरूको पनि धरौटी बचेन । स्वतन्त्र उम्मेदवारहरू अर्जुनविक्रम शाहीको ५५, डाकप्रसाद गौतमको १४, दीपेश बोहोराको २१, मनोज निरौलाको १२, योगेन्द्र गुरुङको ४ र राज बस्यालको ३८ मत आएको छ । उनीहरू सबैले धरौटी गुमाएका छन् ।

मंगलबार बिहान सकिएको मतगणनामा नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भए । 

कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ११ हजार ४ सय ५७ मत आएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ’, भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ